साथि देवनारायण झाको स्मरणमा

Blog Single

साथि देवनारायण झाको स्मरणमा
बिक्रम सम्बत २०४१ सालमा भारतको रूड्की विश्व बिद्यालयमा बी. ई. (सिविल ईञ्जिनीयरिङ्ग विषय) कर्णाली परियोजनाको निमित्त भर्ना भएपछि पहिलो वर्ष निकै मुस्किलले पास गरेर म पनि दोश्रो वर्षको कक्षा चढें। दोश्रो वर्षको कक्षा शुरू भएपछि एकजना अलिक निकै नै उमेर भएको (कपाल पनि निकै देखिने गरेर फुलेको) साथि हाम्रो कक्षाको बाहिर (पहिलो तलाको पानी पिउने स्थान नजिक) वरण्डामा आएर हामीसंग नेपालीमा बात मार्नु भयो। एकदुई दिनमा मेरो वहाँसंग कुरा भयो, चिना परिचय भयो। वहाँ हाम्रो ब्याच भन्दा एक वर्ष पहिला नै कोलम्बो-प्लान अन्तर्गत रुड्की विश्व विद्यालयमा आएको, तर कुनै कारणले अहिले हामीहरूको ब्याचमा पढाइ चालु राख्दै हुनुहुँदो रहेछ। वहाँको नाम रहेछ श्री देवनारायण झा। विहे भै सकेको र छोरा छोरीहरू पनि भैसकेको त्यो उमेरको वहाँ कसरी पढ्न आउनु भयो भनेर मैले सोधेपछि वहाँले मलाई आफू तत्कालीन श्री ५ को सरकारमा धेरै वर्ष ओवरसीअर पदमा काम गरेको बताउनु भएको थियो।
जनकपुर अंचल, महोत्तरी जिल्लाको बथनाहा गाऊँको झा ब्राम्हण परिवारमा जन्मेर गाऊँबाट एसएलसी पश्चात ओवरसीयर पढेर नेपाल सरकारमा जागीर शूरु गर्नु भएछ। त्यहाँ कार्यरत रहँदा देखाउनु भएको लगनशीलता र मेहेनतको कदर गरेर नेपाल सरकारले त्यो बेला कोलम्बो प्लान अन्तर्गत नेपाललाई आउने छात्रबृत्ति मध्येको एक सीटमा झाजीलाई छनौट गरेको रहेछ र यसै क्रममा वहाँ रुड्कीमा पुग्नु भएको रहेछ। आफ्नो मेहेनत तथा नेपाल सरकारको सकरात्मक सहयोग दुवै मिल्न गएको परिणाम स्वरूप देव नारायण झाजी अध्ययन गर्न रुड्की विश्व बिद्यालयको तेस कक्षामा पुग्नु भएको थियो जहाँ वहाँका सहपाठीहरु वहाँ भन्दा औसतन पन्द्रह वर्षले भाइहरु थिए।
हाम्रो कक्षामा आई सकेपछि भने झाजीलाई अघिल्लो वर्ष जस्तो पढाइ सम्बन्धी कारणले कुनै तकलिफ भएन। वहाँको हिम्मत नहार्ने स्वभावको कारणले वहाँले मेलो समातिसक्नु भएको थियो। पढाउने सरहरूले वहाँप्रति सम्मान नै जनाउंथे। हामी नेपाली विद्यार्थीहरूलाई भारतमा पढ्न जाँदा तेतिबेला क्रिकेट खेल के हो र कसरी खेलिन्छ भनेर थाहा थिएन। शायद तेश्रो वर्ष देखि मात्र रस पसेको थियो। तर हाम्रा कक्षाका केही साथीहरू भने क्रिकेटका शूरूबाटै जानिफकार थिए। क्रिकेटमा शुरुबाट नै रुची राख्ने साथिहरुमा विनय कोइराला, सञ्जु उपाध्याय र झाजी, यी तीनजना थिए। पछि नेपाली बिद्यार्थीहरु बीच हुने क्रिकेट खेलमा एम्पाएरको भूमिकामा झाजी देखिन थाल्नु भयो। वहाँको एम्पायरगिरी त यति फेमस भयो कि भारतीय साथीहरुले खेल्ने खेल, जुन मूख्य प्ले-ग्राउण्डमा हुने गर्दथ्यो, तेस खेलमा पनि वहाँ नै एम्पायर हुन थाल्नु भयो। एक हिसावले वहाँले विश्व विद्यालयमा आफ्नो खास स्थान बनाउन सफल हुनु भयो।
रुड्कीमा चार वर्षको अध्ययन पूरा गरे पछि हामी नेपाल फर्कियौं। अब हाम्रो सामु क्यारीयर छान्ने स्थिति आयो। एक वर्षपछि खुलेको लोकसेवामा हामीले प्रतिष्पर्धा गर्यौं र हामी मध्ये धेरैले नेपाल सरकारका बिभिन्न बिभागमा क्यारीअर शुरु गर्यौं। हाम्रो ग्रुपका निकै धेरैले सिंचाइ बिभागमा काम शुरु गर्यौं तेसमा झाजी पनि पर्नु भयो।
सिंचाइ बिभाग अन्तर्गत मेरो पोस्टिङ्ग बर्दियाको बबई सिंचाइ आयोजनामा भयो र मैले तेस आयोजनामा करिब सात वर्ष बिताएँ। झाजी पनि बिभिन्न कार्यालय धेर, थोर समय कार्यरत रही म बबई बस्दाको पछिल्लो समय तिर वहाँ नेपालगंजमा खटिनु भयो। सिंचाइ बिभागले नदी नियंत्रण गर्नको निमित्त नेपालका चार स्थानमा मेशीन स्थापना गरेर तारजाली (Gabion Wire) का बक्सहरू बनाउने कार्यक्रम चलाएको थियो। ती मध्येको एउटा स्थान नेपालगञ्जमा पनि मेशीन सथापना भएको थियो र तारजाली बक्सहरू बनाउनु पर्दथ्यो। यो कार्यालयको इन्चार्जको रुपमा वहाँलाई खटाएकोले हामी बबईबाट नेपालगंज जाँदा वहाँसंग भेट भै रहन्थ्यो। मजाक गरेर हामी वहाँलाई जाली-इञ्जिनीयर भन्ने गर्दथ्यौं। तर सँधै मुस्कान रहने वहाँको मुहारमा तेसले कुनै असर पर्दैनथ्यो, बरू अझ उज्यालो हुने गर्दथ्यो। साथीहरूको हँसी मजाकमा वहाँ औधि रुचाएको भान हुन्थ्यो। अँ, एउटा अर्को कुरा, वहाँको हातमा भने कहिल्यै पनि ट्राञ्जिस्टर छुट्दैनथ्यो, ट्रान्जिस्टर नभए तेसबेला चली रहेका हरेक क्रिकेटको अपडटे कसरी गर्ने त? वहाँले हामीलाई नै सोध्नु हुन्थ्यो।
बबई सिंचाइ योजनामा करिब सात वर्ष पछि मेरो सरूवा बिराटनगरमा भयो र त्यहाँ सात-आठ वर्ष बसेपछि म काठमाडौं सरें। काठमाडौंमा रहँदा केही समय म दाङमा कर्यरत रहें। पछि फेरि केही वर्ष सिंचाई बिभागमा बसेपछि जम्मा वीस वर्ष नेपाल सरकारको नोकरीबाट २०६७ सालमा मैले राजिनामा दिएर निप्पनकोई कम्पनीमा कार्यारम्भ गरें। यस बीच झाजी पनि सिंचाइ बिभागका बिभिन्न स्थानमा सरूवा भएर काम गर्नु भयो। मेरो प्रत्यक्ष भेट भने हुन सकेन।
तेस्को करिब एक वर्ष पछाडि नेपाल ईञ्जिनीयर्स एसोसीयसनको पुलचोक अफीसमा भएको एउटा कार्यक्रममा श्री झाजीसंग मेरो भेट भयो। लामो अन्तराल पछि भएको यस भेटमा हामी दुवैजना केही भावुक भएछौं। मैले वहाँलाई अहिले पोष्टीङ कहाँ छ झाजी भन्ने मेरो प्रश्नमा वहाँले अहिले त म घरमा पो छु, दुई वर्ष पहिला नै म त रिटायर्ड भै सकें भन्दा म त शुरुमा झसंग बनें। वहाँ रिटायर्ड नै हुनु होला भन्ने मेरो अपेक्षा थिएन। मैले वहाँलाई अब के गर्ने त? मेरो प्रोजेक्टमा काम गर्ने हो, यदि तपाई काम गर्न चाहानु हुन्छ भने हाम्रो तेता सिन्धूली, बर्दिवास तिर केही प्रोजेक्ट चली रहेका छन, म मेरो सुपरवाइजरलाई भनेर तपाईंलाई इन्गेज गर्न प्रयास गर्नेछु भनेर भन्दा वहाँले हुन्छ भन्नु भयो। मैले मेरो सुपरवाइजरलाई वहाँ मेरो साथि हो, काममा लगाए हुन्छ भनेर सीफारीस गरें। तेस्पछि झाजीले हाम्रो प्रोजेक्ट ज्वाइन गर्नु भयो।
बर्दिवासमा मुकाम रहेको तेस कार्यालयबाट वरिपरिका बिभिन्न स्थानमा पुलहरू बनी रहेका थिए। त्यहाँबाट ती पुलहरूको निरीक्षण गर्नु पर्दथ्यो। त्यहाँ हाम्रो प्रोजेक्ट अन्तर्गत करिब दश जना स्टाफ कार्यरत थिए। वहाँ पनि तेहीँ बस्न सुरू गर्नु भयो। वहाँले पछि भाउजूलाई पनि बोलाउनु भयो। समय मिलेसम्म बहाँहरू संगै पनि बस्नु भयो। वहाँ बर्दिवासमा बसुन्जेल हाम्रो स्टाफहरुको संरक्षकको रुपमा रहनु भयो।
वहाँको व्यक्तित्व आफ्नो संस्कार, रिती रिवाज मान्ने र सँधै आत्मसम्मानलाई उच्च महत्व दिने थियो। नेपालीको आलावा मैथिली, संस्कृत भाषामा वहाँ पारंगत हुनुहुन्थ्यो। वहाँको खाना शुध्द शाकाहारी थियो। दूध र दूधबाट बनेका परिकार भने वहाँलाई औधि मन पर्दथे। मिठाई तेस्तै मन पर्दथ्यो, जहाँ गुलियो, उहीं बाहुन भुलियो भन्नु हुन्थ्यो, हैन झा भुलियो भनेर हामी ठट्टा पनि गर्दथ्यौं।
बर्दिवासमा वहाँले करिव दुईवर्ष काम गर्नु भयो र तेसपछि वहाँले आफैंले छोडेर जाने इच्छा देखाउनु भयो। वर्दिवास छोडेपछि वहाँ महोत्तरीको आफ्नो पैतृक घरमा नै रहनु भएको थियो। हरेक चाड पर्व आउँदा त पर्वहरूको धार्मिक र सांस्कृतिक महत्वको वर्णन लेखेर फेसबुकमा राख्नु हुन्थ्यो। म चाख मानेर पढ्ने गर्दथें।
यही २०७८ साल भाद्र २१ गते कूशे औंशीको दिन दिउँसो साथि दशरथ श्रेष्ठबाट मेरो मोबाइलको घण्टि बज्यो। खवर पीडादायी थियो। तेही दिन बिहान कूश टिप्ने क्रममा साथि देवनारायण झाको चिप्लेर लड्नु नै वहाँको यस धरती छोड्नु पर्ने कारण बनेछ। एक छिन अगाडिसम्म खेली रहेको, हिंडी रहेको सद्दे मान्छेलाई कसरी दैवले एकै निमेषमा चट्ट टिपेर लग्यो। हुन त सान्सारिक कुरा हो र अकाट्य छ। जन्मे पछि मरण हुन्छ नै। यसरी एकै निमेषमा मृत्यु वरण गर्न सक्नु पनि शायद धर्मात्मालाई मात्र जुर्छ होला।
जानेले त छोडेर जाई जान्छन। यहाँ रहनेले पीडा बोक्नु पर्दछ। यस आपदको घडिमा झा भाउजू र परिवारका सम्पूर्ण सदस्यहरूमा आई परेको बिपद सहनसक्ने क्षमता र साहस प्राप्त होस भनी श्री परमेश्वरसंग प्रार्थना गर्दछु।

रमेश पी. कोइराला

Share this Post:

Latest Posts: